काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा साँस्कृतिक तथा व्यापारिक महोत्सव हुँदैछ । पनौती उद्योग वाणिज्य संघको सहकार्यमा, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा, पनौती नगरपालिका वडा नं. ७ को संरक्षकमा र संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा पनौतीमा पहिलो पटक महोत्सव हुन लागेको हो । सोमबार पत्रकार सम्मलेन गरी महोत्सव चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने बारेमा जनाइएको हो ।
महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीलाई प्राथमिकतामा राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै, महोत्सवमा आकर्षक व्यापारिक स्टलहरु रहने, बालबालिकाको मनोरञ्जनका लागि आधुनिक बाल–उद्यान, प्रत्येक साँझ राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको मनोरञ्जनात्मक एवं सांस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक र हस्तकलाको जीवन्त प्रदर्शन गर्दै स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य महोत्सवले राखेको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । उनका अनुसार यस महोत्सवले पर्यटन प्रर्बद्धनमा मद्दत पु¥याउनेछ ।