काभ्रे । शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस वर्षको एसइई परीक्षामा ३२ वटा विद्यालयबाट नियमिततर्फ १० जनाभन्दा कम विद्यार्थी सहभागी हुने जनाएको छ भने नियमित र ग्रेडवृद्धि गर्ने विद्यार्थीसमेत गर्दा २० वटा विद्यालयबाट विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाको ज्ञानोदय माध्यमिक इङ्ग्लिस मावि नमोबुद्ध, फेमस इङ्ग्लिस बोर्डिङ स्कुल बनेपा र सगुन विद्या मन्दिर खनालथोकबाट ग्रेडवृद्धिका लागि विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने नियमिततर्फ कुनै विद्यार्थी सहभागी नहुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
एकाइको तथ्याङ्क अनुसार ज्ञानोदयबाट ३ जना, फेमसबाट १ जना र सगुनबाट ३ जना, सेतीदेवी मावि मेच्छेबाट ८ जना, रत्न चुण्डेश्वर माविबाट ७ जना, दाप्चा मावि दाप्चाबाट ८ जना, ज्ञानोदय माध्यमिक इङ्ग्लिस स्कुलबाट ३ जना, श्वेतवराह मावि टुकुचाबाट एक जना, काभ्रे बहिरा विद्यालय बनेपाबाट ९ जना विद्यार्थी, हिमालय इन्टरनेसनल एकेडेमी धुलिखेलबाट ५ जना, नैमिषारण्य गुरुकुल विद्यालयबाट ४ जना, देउराली मावि वित्र्ता देउरालीबाट ७ जना, भक्तेश्वर मावि बनेपाबाट ९ जना, शारदा माविबाट ७ जना, भूमिमाता मावि तिप्चोकबाट ५ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने भएका छन् ।
त्यस्तै ज्ञानज्योति इङ्ग्लिस बोर्डिङ स्कुलबाट ४ जना, सगुन विद्या मन्दिरबाट ३ जना, भुमेस्थान माविबाट ८ जना, खाँडादेवी माविबाट ७ जना, सूर्योदय मावि सानोबाङ्थलीबाट ८ जना, अरनिको मावि पोखरीचौरीबाट ८ जना, नागदेवी मावि माटेबाट ९ जना र भुमेस्थान मावि लुर्पुङबाट ९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएको शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकका प्रमुख ढकालले जानकारी दिए । यस वर्षको एसइई परीक्षामा जिल्लाबाट नियमिततर्फ पाँच हजार ७ सय ८९ जना र ग्रेडवृद्धिका लागि ६ सय २ जना गरी कुल छ हजार ३ सय ९१ जना परीक्षार्थी सहभागी हुने छन् । परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये १ सय ९६ जना प्राविधिक भारका रहेका छन् भने परीक्षाका लागि जिल्लाभर ३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।