काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा बस दुर्घटनामा परेर १ जनाको मृत्यु र १ जनाको घाइते भएको छ । पालिकाको वडा नम्बर ३ कुँडुवाल खोलामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बस विवाहको जन्ती पुर्याएर आज विहान क्यू लिन जाँदै गरेको ना ४ ख ८८१७ नम्बरको बस मोड नपुगेर ब्याग गर्ने क्रममा खसेको बताइएको छ । बसमा बसका साहु, चाकल र सहचालक मात्रै सवार थिए ।
दुर्घटनामा बसका साहु तेमाल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय राम सिं तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी एवं सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिएका छन् ।
बसका चालक गम्भीर घाइते छन् । मकवानपुर जिल्लाको बागमती गाउँपालिका घर भएका बसका चालक ५० वर्षीय कृष्ण ब्लोनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।