काभ्रे । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि १० सट लिस्टमा छानिएका छन् ।
केयुमा रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठीत खोज तथा सिफारिस समितिले उपकुलपति पदका उम्मेदवारहरुको संक्षिप्त सूचि प्रकाशन गरेको छ । काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार उपकुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका स्वीकृत दरखास्तहरुमध्येबाट ऐ. दफा ८ को उपदफा (२) खण्ड (क), (ख), (ग), (घ) (ङ), (च) र (छ) को आधारमा मूल्यांकन गरी संक्षिप्त सूचि प्रकाशन गरिएको हो ।
प्रा. डा. अच्युत वाग्ले, प्रा. डा. कन्हैया झा, प्रा. डा. जर्नादन लामिछाने, प्रा. डा. बाल चन्द्र लुइटेल, प्रा. डा. विभूति रज्जन झा। प्रा. डा. वेदमणी दाहाल, प्रा. डा. भोला थापा, प्रा. डा. राजेन्द्र प्रसाद कोजु, प्रा. डा. श्याम नारायण लाभ र प्रा. डा. सुबोध शर्मा १० जनामा परेका हुन् ।
उम्मेदवारहरूको सोचपत्र र रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति र समयमा तोकिएको छ । समितिको सचिवालय, सम सेण्टर ज्ञानेश्वर, काठमाडौमा दरखास्तसाथ पेश गरिएका प्रतिलिपीहरुको सक्कलै कागजातहरु लिई उपस्थित हुन सट लिस्टमा परेको उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।
१ देखि ५ सम्मका उम्मेदवारहरुको २०८१ फागुन २ गते शुक्रबार विहान १० बजेदेखि र ६ देखि १० सम्मका उम्मेदवारहरुको २०८१ फागुन २ गते शुक्रवार दिउँसो २ बजेदेखि प्रस्तुतीकरणको समय तोकिएको छ भने १ देखि ५ सम्मका उम्मेदवारहरुको २०८१ फागुन ३ गते शनिवार विहान १० बजेदेखि र ६ देखि १० सम्मका उम्मेदवारहरुको २०८१ फागुण ३ गते नै दिउँसो २ बजेदेखि अन्तर्वार्ता हुनेछ ।