काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिकामा बालबालिका माथि हुने यौनजन्य दुव्र्यवहार विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय–प्रहरीको साझेदारी महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल प्रहरी र स्थानीय तहको बीचमा सम्वद्ध सरोकारवालाहरूलाई समेत समेटी संस्थागत साझेदारीबाट समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहयोग पुग्ने भएकोले यस्ता कार्यक्रम प्रभावकारी बनाउन गाउँपालिका सदैव तयार रहेको बताए ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकामा बाल यौन दुव्र्यवहारका केहि घटना आएका र त्यसमा गाउपालिकाले न्यायोचित व्यवहार गरेको बताइन् । तिमल्सिनाले बालबालिका सुरक्षित रहनुपर्छ भन्नेमा गाउँपालिका सचेत रहेकोले गाउँपालिकाको न्यायिक समिति, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले हिंसा र दुव्र्यवहार अन्त्य गर्न काम गरिरहेको प्रष्ट पार्दै सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू, विभिन्न क्षेत्रका सामाजिक संघ संस्थाहरू, महिला, बालबालिका र युवा सम्बन्धी संघ संस्थाहरूले बेथानचोकमा काम गरिरहेको बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकको प्रहरी उपरीक्षक वसुन्धरा खड्काले स्थानीय तह र स्थानीय प्रहरी इकाईबीच प्रभावकारी समन्वय र सहकार्यबाट नै समाजमा अमनचयन कायम हुने बताइन् । उहाँले स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रूपमा अगाडी बढाउने उद्देश्यले आफू काभ्रेमा आएसँगैँ सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाका करिब ८ सय ५० वटा कार्यक्रम गरिएको कार्यक्रममा जानकारी दिइन् । बागमती प्रदेशभित्र काभ्रे जिल्लामा यौनजन्य हिंसामा बढ्दै गएको र यसलाई गम्भीरताका साथ लिएर आफूहरुले अभियान स्वरुप काभ्रेका विभिन्न पालिकाहरुमा कार्यक्रम गरेको बताइन् ।
प्रहरी उपरीक्षक खड्काले हिंसाको जोखिममा पर्न सक्ने समूहलाई हिंसाबारे सचेतना फैलाउँदा आफू हिंसामा परेको, त्यसको प्रतिकार कसरी गर्ने, कसरी प्रहरीलाई १०० नम्बरमा खबर गर्ने र जानकारी दिने विषयहरु अभियानले समेटेको भनाई राख्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरूप स्थानीय तह र स्थानीय प्रहरी इकाईबीच प्रभावकारी समन्वय र सहकार्यबाट सेवा प्रवाह र सुरक्षा मजबुद हुने बताइन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काले काभ्रेका सामुदायिक तथा संस्थागत विद्यालय लक्षित चेतनामुलक पोस्टर क्याम्पेनले हिंसा के हो ? केलाई हिंसा भन्ने ? कसरी बच्ने ? कानुनी उपचार के ? भन्ने विषयमा समाजका सबै तप्कालाई बुझाउन मद्दत मिल्ने बताउँदै सचित्र रुपमा तयार पारिएको यौन हिंसाबारे बुझाउने दुव्र्यवहार सम्वन्धि चेतनामुलक ‘गुड टच र व्याड टच’को पोस्टरले बालबालिकामा हुने यौनजन्य दुव्र्यवहार न्यूनिकरण हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले शुरु गरेको उक्त चेतना फैलाउने अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले उपलब्ध गराएको सचेतनामूलक सामग्रीबाट गाउँपालिकाभरिका ३२ वटै विद्यालयका बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले तयार गरेको चेतनामूलक सामग्री प्रहरी कार्यालय काभ्रेपलाञ्चोककी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गरिन् । ती सामग्री गाउँपालिका भित्रका सबै विद्यालयलाई पठाइएको छ ।