काभ्रे । जिल्लाका १३ वटै स्थानिय तहको स्थानिय न्यायिक सहजकर्ता र न्यायिक सदस्यहरुको क्षमता बढाउनका लागि जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेका स्थानीय तहका न्यायिक समितिमा हुने न्याय सम्पादनमा सहज बनाउनको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले बताए । उनले अभिमुखीकरण कार्यक्रमसँगै स्थानीय तहमा न्याय सम्पादनमा सहजताका लागि न्यायिक समिति सन्जाल निर्माणको तयारी गरिएको जानकारी दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले यस प्रकाकरको कार्यक्रमले सबै सहभागीलाई न्याय सम्पादनमा सहजता हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागीलाई जिल्ला बार एसोशियसन काभ्रेका अध्यक्ष विष्णु प्रसाद सापकोटाले न्यायिक समितिका काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै प्रस्तुतीकरण दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा विभिन्न विषयमा दर्ता भएका विस्तुगत विवरण बारे जानकारी दिदैं जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सामान्य विवादहरु न्यायिक समितिबाटै सम्पादन हुनुपर्ने बताइन् ।
बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटा दाहाल, पाँचखाल नगरपालिकाकी उप–प्रमुख सूर्य माया दनुवार, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, न्यायिक समितिका संयोजक एवं सदस्यहरुले आफ्ना समस्या राखेका थिए ।
न्यायिक समितिमा देखिएका समस्या समाधान तथा आवश्यक समन्वय र सहयोग गर्नको लागि जिल्ला अदालत काभ्रे सधैं तत्पर रहने जिल्ला अदालत काभ्रेका जिल्ला न्यायधिस मातृका आचार्यले बताए । कार्यक्रममा १३ वटै स्थानिय तहको न्यायिक समिति सदस्य सहित स्थानिय मेलमिलापकर्ता लगाएतका पालिका उप प्रमुख र उपाध्यक्ष, न्यायिक समितिका सहजकर्ता, सदस्य लागाएतको उपस्थिति रहेको थियो ।