काभ्रे । नेपाल सद्भावना पार्टीको कृषि तथा भूमि व्यवस्था विभागले आयोजना गरेको बृहत् वृक्षारोपण कार्यक्रम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ ।
काभ्रेको बतासेमा भएको वृक्षारोपणलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले आज विश्वमा जुन किसिमबाट प्रदुषित हुन पुगेको छ, त्यसको प्रमुख कारण रुख बिरुवाको क्षयीकरण रहेको बताए । यसको लागि स्थानीय तहको नेतृत्व गैरदलिय हुनुपर्ने बताउँदै पर्यावरणतर्फ ध्यान दिनु प्रत्येक नागरिकको दायित्व रहेको बताए ।
पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको राजनीतिक अवस्थालाई सम्बोधन गर्दै संघीयताको जरो भनेको स्थानीय तह हो । त्यसैले भएको चिजलाई भत्काउने होइन, संविधान र कानूनले अलग बनाए पनि बनेपा, पनौती र धुलिखेल नगरलाई एकीकृत योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै वृक्षारोपण कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गोविन्द प्रसाद भण्डारीले स्थानीय वडावासीको साथ र सहयोगबाट विकास निर्माणका कार्यहरू सफलतापूर्वक अघि बढाउन सकेको भन्दै आगामी दिनहरूमा पनि आलोचना आउने किसिमले काम गर्दै अझ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
साथै धुलिखेल र पनौती नगरपालिकाको साझा भूमि बतासेडाँडोलाई पर्यटकीय गन्तव्य बनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सहभागी लायन्स इन्टरनेशनल ३२५ आइ नेपालका ग्लोबल कजेज् चियरपर्सन (भिजन) एमजेएफ लायन प्रल्हाद शर्मा हुमागाईंले यस किसिमका सामाजिक कार्यमा लायन्सको उपस्थिति सदैव रहने प्रतिबद्धता जाहेर गर्दै समाज रूपान्तरणमा प्रत्येक नागरिकलाई दायित्वबोध गराउनुपर्ने आजको महत्वपूर्ण पक्ष रहेको बताएका छन् ।
वृक्षारोपण कार्यक्रमलाई धुलिखेल नगरपालिका वडा नं. १० वडा कार्यपालिकाको सहकार्य र लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे ३२५ आइ नेपालको सहभागितामा स्थानीय पिपलबोट युवा क्लब र स्थानीयवासीहरुको उपस्थितिमा सयौं बिरुवाहरु रोपिएको पिपलबोट युवा क्लबका अध्यक्ष अनुप राउतले जानकारी दिएका छन् ।