काभ्रे । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विद्यालयलाई आज (आइतबार) एक कार्यक्रमका बिच स्कुल बस हस्तान्तरण गरिएको छ ।
उक्त स्कुल बस बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालले विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वमन्त्री लम्सालले सम्बोधन गर्दै प्रदेश सरकारको विद्यालय बस वितरण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरि बस ल्याउन सफल भएको बताउँदै विद्यार्थीको सुबिधाका लागि बस किनिएको हुँदा सहि सदुपयोग हुने र बस सेवाको कारणले विद्यार्थीको संख्या बढ्ने अपेक्षा राखेको बताए ।
मन्त्री लम्सालले विद्यालय राम्रो बनाउन स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र बिद्यार्थी सबै लाग्नु पर्ने बताउँदै अब युवा देशमा टिकाउन ब्यबहारिक शिक्षा आवश्यक रहेको जिकिर गरेका छन् । सम्बोधनकै क्रममा बिद्यालयको परिवर्तन भनेको समाजको परिवर्तन हो। कुनै ठाउँको समाजको सभ्यता त्यहाँ भएको विद्यालयले देखाउने हुँदा सबै भन्दा पहिला विद्यालय राम्रो बनाउनु जरुरी रहेको मन्त्री लम्सालले बताए ।
त्यसैगरी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले बिद्यालय सुधारमा सबैजनाको सहयोग आबश्यक रहेको र आगामी दिनमा बिद्यालयलाई नमूना बनाउने बताउनुभयो साथै बस दीर्घकाल सम्म चल्ने बिश्वास व्यक्त गर्दै अभिभावकलाई निराश नहुन आग्रह गरेका छन् ।
कार्यक्रममा पाँचखाल नगरपालिका उप- मेयर सुर्यमाया दनुवारले बस सञ्चालनमा आउनु खुशीको कुरा भएको बताउँदै यो खुसी निरन्तर हुनको लागि बस राम्रोसँग चल्नुपर्नेमा जोड दिएका छन् ।
बस हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला, जोरपाटी माविका प्रअ विष्णु सापकोटा, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।