काभ्रे । आमाबुबाबिहिन बालबालिकाको संरक्षणका लागि बेथानचोक गाउँपालिकाले आर्थिक रुपमा सहयोग गरेको छ ।
आमाबुबाविहीन भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता अन्तर्गत प्रति महिना २ हजार रुपैंयाका दरले पालिकाका ९ जना बालबालिकालाई एकमुष्ट २ लाख ११ हजार ४८० रुपैंया संरक्षण रकम प्रदान गरिएको गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी दिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन भएको आमाबुबाबिहिन संरक्षण कार्यक्रमका लागि मन्त्रालयले प्रति व्यक्ति २ हजारका दरले वार्षिक एकमुष्ठ रकम पठाउनुपर्नेमा यस आर्थिक वर्ष २०८०÷०८१ मा ७२ हजार रुपैंया मात्रै पठाएको शाखा अधिकृत सुशिला राईले जानकारी दिइन् । उनका अनुसार प्रदेशबाट पठाएको रकम अपुग भएपछि पालिकाले अपुग रकम १ लाख ३९ हजार ४८० रुपैंया आमाबुबाबिहिन बालबालिकालाई संरक्षणमा थप बताएको छ ।
सामाजिक सुरक्षा भत्ता सम्बन्धी कार्यविधि अनुसार स्थानीय तहले आवश्यक कागजात समयमै नपठाउ“दा केही पालिकामा बजेट कम पुगेको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चैत मसान्तसम्ममा प्रदेशका सबै पालिकालाई आवश्यक कागजातको माग गरिएको थियो । तर, केही पालिकाबाट निर्धारित समयमा कागजात नआइपुगेकाले बजेट कम पुगेको हो । यसमा स्थानीय तहको पनि दायित्व रहन्छ । यस कार्यक्रमलाई अपनत्व लिएर काम गर्नुपर्ने हुन्छ । प्रदेशबाट पालिकालाई कम बजेट गएको अवस्थामा स्थानीय तहले नै अपुग रकम थपेर दिनुपर्ने कुरा प्रदेशको कार्यविधिमा उल्लेख छ ।
सोही कार्यविधिलाई आधार मानेर पालिकाले आमाबुबाबिहिन भएका बालबालिका संरक्षणमा आफ्नो दायित्वलाई स्मरण गर्दै सामाजिक सुरक्षा भत्ता वितरणमा अपुग रकम थप गरेको बबेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रमलाई पालिकाले अपनत्व लिएर प्राथमिकतामा राखेर आमाबुबाबिहिन बालबालिका संरक्षणमा आर्थिकसँगै शैक्षिक रुपमा सहयोग गर्दै आएको छ । आमाबुबाबिहिन बालबालिकालाई समय समयमा शैक्षिक सामाग्रीहरु पनि वितरण गदैए आएको बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।