काभ्रे । काभ्रेको बनेपा नगरपालिकाले नगरपालिका भित्र रहेका विभिन्न कारणले आमाबुवा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुवाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी आमाबुवा विहीन २१ बालबालिकालाई आज बनेपा नगरका उपप्रमुख बिमला सापकोटा र प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले संयुक्त रुपमा भत्ता वितरण गरिएको हो ।
बनेपा नगरका उपप्रमुख सापकोटाले बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिएकी छिन् । सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गर्दै भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनु पर्नेमा जोड दिएकी छिन् ।
प्रमुख प्रशासकीय अधिकृत चापागाईंले बोल्दै जसको कोही हुँदैन उसको भगवान् हुन्छ । त्यसैले उनीहरुको भविष्य झन् उज्जवल हुने बताए । सो क्रममा १८ वर्ष भन्दा मुनिका नगरपालिकाको वडा नं २ बाट तीन जना, वडा नं ३ बाट दुई जना, वडा नं ६ बाट एक जना, वडा नं ७ बाट एक जना, वडा नं ८ बाट एक जना, वडा नं १० बाट दुई जना, वडा नं ११ बाट पाँच जना, वडा नं १२ बाट दुई जना र वडा नं १३ बाट चार जना गरी एक्काइस जनालाई ६ महिनाको जनही रु अठार हजारका दरले रकम वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विजया सुवेदीले जानकारी दिएका छन् ।