काभ्रे । पनौती नगरपालिकाको स्वाभिमान दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न भएको छ ।
पनौती नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम गरेको यो पहिलो भएको कार्यक्रममा जानकारी दिएको छ ।
कार्यक्रममा बालमैत्री शाखाका प्रमुख केशव बन्जाराले भाइबहिनीहरुलाई कार्यक्रमको उदेश्य र औचित्यबारे जानकारी गराएका छन् । बालबालिकाको माग आवश्यकतालाई सम्बोधन गर्न साथै बालबालिकाको अधिकार संगसंगै कर्तव्यको समेत बोध गराउने लगायतको उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरेको बालमैत्री शाखा प्रमुख बन्जाराले जानकारी दिएका छन् ।
कार्यक्रममा वडा बाल समुह संजालबाट १२ वटा र नगर बाल समुह संजालबाट १ वटा गरि १३ वटा समुह निर्माण गरिएको छ । उक्त समुहहरुले हालसम्म भए गरेका कामको बारेमा जानकारी गराएको थियो । साथै सोही समुहबाट साझा धारणा बनाइ आ-आफ्नो समुहको तर्फबाट नगरपालिका प्रती अपेक्षा समेत प्रस्तुत गरेका थिए ।
बालबालिकाहरुले नगरपालिकाका मेयरसंग प्रत्येक वडामा बलमैत्री सार्बजनिक शौचालय, बालमैत्री पार्क, विद्यालयमा सेनिटरी प्याड डिस्पोजल कीटको व्यवस्था, पुस्तकालयको व्यवस्था, सामुदायिक विद्यालयले उठाएको शुल्क सम्बन्धि, खेल मैदानका साथै खेलकुदका सामाग्री, सार्वजनिक स्थानमा धूम्रपान र मद्यपान बेचबिखन र प्रयोग रोक्न, गाडी भाडामा छुट नभएको, विद्यार्थीहरु शिक्षकहरुबाट दण्डित हुनु परेको लगायतका कुराहरूलाई सुधार सहितको अपेक्षा राखेका छ । साथै उनीहरुले निजि विद्यालयमा सेनिटरी प्याड बितरण गर्न पनि मेयरसँग अनुरोध गरेका छन् ।
राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्किएको कुराले आफुहरुलाई चिन्ता लागेको र यसको अनुगमन गर्न कसले छेक्यो ? भन्दै प्रश्न गरेका थिए । विद्यार्थीहरुले मेयरसंग बालमैत्री नगर भनेको छ तर एक जना अभिभावक आफ्नो छोराछोरी विद्यालयबाट फर्केर आउँदा सुरक्षीत आउँछन की आउँदैनन भन्ने डरमा बस्नु परेको धारणा समेत राखेका छन् ।
त्यस्तै बालबालिकाले नगरको महिला तथा बालबालिका शाखाबाट प्रदान गरिएको किशोर किशोरी शिक्षा तालिम सामुदायिक विद्यालयमा दिएको तर संस्थागत विद्यालयमा नदिएकोमा गुनासो राख्दै मिति सकिएका खाद्य सामाग्री बिक्री भएको र यसले बालबालिकालाई मात्र नभई समग्र मानव जीवनमा प्रतिकुल असर पार्ने भएकोले यसको अनुगमनमा ध्यान दिन नगर प्रमुखको ध्यानाकर्षण समेत गराएका छन् ।
पनौती नगरपालिकामा २०७८ साल असर ३० गते बालमैत्री नगर घोषणा भएको थियो भने निकट भविष्यमा नै बालश्रममुक्त नगर घोषणा गर्ने तयारीमा पनि नगरपालिका रहेको छ । बालबालिकाले वडा तथा नगरमा बाल समुह संजाल गठन पछि बालबालिकाको पक्षमा धेरै कामहरू भएको र यसलाई दिगोपना दिन जरुरी रहेको धारणा पनि राखेका छन् । उनिहरुले नगरपालिकाबाट हुने विभिन्न सडक नाटक र जनचेतना मुलक कार्यक्रममार्फत वडामा हुने बालविवाह रोक्न, बालश्रम हटाउन , धूम्रपान र मद्यपान सेवनमा न्युनिकरण गरिएको पनि धरणा राखेका छन् ।
समुहबाट आएका अपेक्षा र प्रश्नहरुलाई नोट गरि नगर प्रमुख रामशरण भण्डारी र उप प्रमुख गीता बन्जाराले अपेक्षाहरु माथि प्रतिबद्धता जनाउँदै सम्बोधन गरेका छन् । कार्यक्रममा पनौती नगरका १२ वटै वडाबाट वडा बालसंजालका विद्यार्थी भाइबहिनीहरु, नगर बाल समुह संजालका भाइबहिनी र १२ वटै वडाका बालमैत्री सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।