ज्ञानमणि नेपाल कालोटोपी
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४२ औं स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष कांग्रेसले विभिन्न कार्यक्रम गर्दै आए पनि आज नेताहरुले बीपीका सिद्धान्त भने बिर्सिसकेका छन् । नेपालको राजनीति र साहित्यिक क्षेत्रमा उहाँको नाम र स्थान सुरक्षित छ र रहने छ युगौंसम्म पनि । के छ त कोइरालाको योगदान ?
विसं १९७१ भदौ २४ गते भारतको वनारसमा जन्मिएका बीपी कोइराला २०१५ सालमा भएको आमनिर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसले बहुमत ल्याएपछि प्रधानमन्त्री बन्नुभयो । उहाँ नेपालको इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा चिनिनुहुन्छ ।
तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वासित जीवन बिताइरहेका बीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गर्नुभयो ।
२००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोज्नुभयो । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका उहाँ भारतीय स्वतन्त्रता आन्दोलनमा समेत संलग्न हुनुभयो ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका कोइरालालाई नेपालका सबैजसो लोकतान्त्रिक नेताहरु राजनीतिक गुरुको रुपमा मात्र मान्दैनन् , बामपन्थी नेताहरुसमेत प्रेरणाका पर्यायका रुपमा लिने गर्छन् । नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीले समेत आफूलाई मन पर्ने नेताहरूको सूचीमा बीपी कोइरालाको नाम पहिलो नम्बरमा राख्नुभएको थियो ।
उहाँले भन्न खोजेको समाजवाद के हो भन्नेमा भने अहिले पनि निकै थरिका मत बाहिर आइरहेका छन् । कोइरालाले त्यतिबेला कल्पना गरेको समाज अहिलेसम्म पनि बन्न सकेको छैन । एउटै देशका नागरिक भए पनि कोही महलमा छन् त कोही सडकमा । यही दृष्य देखेर त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘गरिबको एउटा सानो भए पनि घर होस् । केटाकेटीले पढ्न पाउन्, रोगीहरुले सिटामोल पाउन् । कुटिर उद्योगलाई संरक्षण र प्रगतिशील कर र क्रान्तिकारी भूमिसुधार ।’
एकाथरिले कोइरालाले दिएका यी अभिव्यक्तिलाई त्यतिबेलै संकुचितरुपमा लिए भने अर्काथरिले परिवर्तनशील र यथार्थमा आधारित भनेर व्याख्या गरे । खासमा उहाँले अघि सारेको समाजवाद नै यही हो । तर अहिलेको समयसम्म पनि बीपीको सपना साकार हुन भने सकेको छैन ।
नेपाली साहित्यमा मनोबैज्ञानिक पक्षलाई भित्र्याएका उहाँले राजनीतिमा समाजवादको अवधारणा अघि सार्नुभएको थियो । आफ्नो आस्था, आदर्श र सिद्धान्तबाट कहिल्यै पछि नहट्ने राष्ट्रवादी चिन्तक स्वर्गीय कोइरालाले नेपाली साहित्यमा पनि ठूलो गुन लगाउनुभएको छ । उहाँका आत्मकथा, जेलजर्नल, दोषी चस्मा, हिटलर र यहूदी, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई, बाबु, आमा र छोरा लगायतका थुप्रै चर्चित कृति प्रकाशित छन् । उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो ।