ज्या:पुन्ही अर्थात् पनौती जात्रा

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • १९७ पटक पढिएको
ज्या:पुन्ही अर्थात् पनौती जात्रा

पनौती । जेष्ठ शुक्लपक्ष द्वादशीदेखि मनाइने पनौती जात्रा सुरु भएको छ । जेष्ठ शुक्लपक्ष द्वादशीदेखि पुर्णिमाको रातसम्म जात्रा मनाइन्छ ।
यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रम्ह्मायणी देवीसँग सम्बन्धित रहेको छ । जेष्ठ पुर्णिमाको जात्रालाई पनौती जात्रा भन्ने गरिन्छ । यो जात्रालाई ज्याःपुन्हि पनि भन्ने गरिन्छ । पनौती जात्राको समयमा पनौतीवासी खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपालभाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो ।


जेठ असारमा खेतमा रोपाइँको काम चलिरहेको हुन्छ । किसानको लागि बेफुर्सदिलो अर्थात काम (ज्या)को समय पर्ने जात्रा भएकाले यो जात्रालाई ज्या पुन्ही जात्रा भनिएको किंवदन्तीमा उल्लेख छ । पनौती जात्रामा पलाञ्चोक, पाँचखाल, डाँडापारी क्षेत्रबाट चिउरी, केरा आदि बेच्न आउने मानिसहरु पनि हुने भएकोले यो जात्रालाई चिउरी जात्रा पनि भन्ने गरेको पाइन्छ । यो जात्राले वर्षायामको संकेत पनि भएकोले जेठ असारमा अधिक वर्षा हुने गर्दछ, वर्षाका कारण सबैतिर हिलाम्मे हुँदा मनाइने भएकाले यो जात्रालाई हिले जात्रा समेत भन्ने गरिन्छ ।
त्यसैगरी पनौती जात्रालाई घुम जात्रा पनि भनिन्छ । यो जात्रामा घुमको व्यापार अत्याधिक हुने गर्दथ्यो । वर्षाको समयमा खेतमा काम गर्न अथवा घरबाट बाहिर कतै निस्किन घुमको आवश्यकता पर्दथ्यो । त्यसैले जात्राको समयमा घुम बेच्ने र किन्नेको घुँइँचो लाग्ने गर्दछ ।
“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन” भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको छ ।
जात्रा अविधिभर पनौतीमा हावाहुरी चल्ने, वर्षा हुने जनविश्वास रहेको छ । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको आएको स्थानीयहरू बताउँछन् ।
५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रुपमा लिइन्छ । जात्राअन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।
साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रुमाउँदै एकापसमा रथ जुधाउने गरिन्छ ।
किंवदन्तीकै अनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविर जात्रा पनि हुन्छ ।
लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइने गर्दछ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस