काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका दाप्चामा रहेको सुत्केरीढुंगा स्थानमा आमा शुभलक्ष्मी श्रेष्ठ र बुबा माधवकृष्ण श्रेष्ठबाट जन्मिएकी कान्छी छोरी सिर्जना श्रेष्ठ पेशाले नर्स हुन् । हाल ग्राण्डी सिटीको अप्रेशन विभाग (ओटि) मा कार्यरत नर्स श्रेष्ठ मेडिकल क्षेत्रमा मात्र आफूलाई सीमित नराखी समयको माग र चाहनाअनुसार कृषि पेशालाई अँगालेका छन् । कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै पोलिब्याग खेतीबाट कृषि व्यवसायलाई अगाडि बढाउँदै छिन् । आफूले अँगालेको नयाँ प्रविधि पोलिब्याग खेतीबारे सिर्जना श्रेष्ठसँग गरिएका संवादको केही अंशः
० नर्स पेशा गर्दागर्दै कृषि व्यवसाय रोज्नुभयो ? किन ?
म किसानको परिवारमा जन्मे, हुर्केको र विवाह गरी आएको घरमा पनि श्रीमान् कृषि क्षेत्रमा निकै लगाव राख्ने व्यक्ति भएकोले उहाँकै प्रेरणा, साथ, सहयोगकै कारण मलाई यस कृषि पेशा आकर्षित ग¥यो । मैले हासिल गरेको मेडिकल क्षेत्रको सीप सँगसँगै श्रीमान्का अपेक्षा र चाहनाहरुलाई पनि सघाउनुपर्छ भन्ने भावनाका साथ कृषि व्यवसायलाई अँगालेर अघि बढेको छु ।
० पोलिब्याग खेती भन्नुभयो, यो कस्तो खाले खेती हो ? यसको बारे प्रष्ट पारिदिनुस् न ।
पोलिब्याग खेती नितान्त नयाँ प्रविधि हो । यसबाट किसानहरुको लागत कम उत्पादन बढी र जैविकताको संरक्षण पनि हुन्छ । अझ भन्नुपर्दा, यो प्रविधिबाट खेती गर्दा सिंचाईमा धेरै समस्या नआउने, उत्पादनलाई अनावश्यक झार, किरा फट्यांग्राहरुले दुःख दिन नसक्ने भएकै कारणले यो प्रविधि हाम्रो माटो सुहाउँदो छ भन्नेमा म विश्वस्त छु । कृषि प्रविधिअन्तर्गत यस किसिमको खेतीलाई आजकाल पोलिब्याग खेती वा पोलिब्याग नर्सरी पनि भनिन्छ, पोलिब्यागमा बिरुवाहरु उब्जाउने एक विधि हो । जुन एकल बिरुवाहरुको गहन हेरचाह र स्याहारका लागि प्रयोग गर्न सकिन्छ । पोलिब्याग खेतीलाई परम्परागत खेतीभन्दा बढी व्यवहारिक र उत्पादनमुलकका रुपमा प्राथमिकता दिइन्छ । किनभने यस खेती प्रणालीमा समग्र बिरुवाको विकास र स्वास्थ्य गहन हेरचाह गर्न सकिने प्रविधि पनि हो ।
० बिचौलियाहरु मौलाइरहँदा तपाईंको उत्पादनले सहज रुपमा बजार पाएको छ त ? के छ बजार व्यवस्थापन ?
यो प्रविधि अन्तर्गत कुनै पनि रसायनहरु बिना उत्पादन गर्न सकिन्छ । जसले गर्दा आज हामीले सहज रुपमा बजार पाएका छौं । अहिलेसम्मको लागि हाम्रो उत्पादनले बजारको समस्या खेप्न परेको छैन । अर्गानिक उत्पादन भएकोले यसको बजार धेरै ठूलो छैन, विशेष किसिमका ग्राहकहरु चण्डी अर्गानिक एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा नै आएर लिन आउनुहुन्छ । यो हाम्रो सानो प्रयास भएकोले भविष्यमा यसको स्कोप अझै बढ्दै जानेछ भन्ने आशा राखेको छु ।
हाम्रो उत्पादनहरु फार्मबाटै बिक्रि वितरण हुँदै आएका छन् । बचेको केही उत्पादन अर्डर अनुसार प्याकिङ्ग गरी सम्बन्धित उपभोक्तासम्म पु¥याउने गरेका छौं । जसको कारण बिचौलियाको सिकार हुन परेको छैन । भविष्यमा गएर उत्पादनको मात्रा वृद्धि हुँदै गएपछि बजारको व्यवस्थापन हुँदै जाने क्रममा बिचौलियाहरुको समस्या नआउला भन्न सकिँदैन । बिचौलियाबाट किसान र उपभोक्तालाई बचाउनको लागि राज्यले अहिलेबाट नै ध्यान दिन जरुरी छ भन्ने लाग्छ ।
० पोलिब्याग खेती र परम्परागत प्रविधिबाट गरिने खेतीमा के भिन्नता छ ?
पोलिब्याग प्रविधिमा माटोलाई एउटा पोलिब्यागमा भरिएर टनेलभित्र क्रमबद्ध रुपमा राखी एउटा–एउटा बिरुवा मात्रै रोपिन्छ । जुन प्रविधि परम्परागत भन्दा धेरै फरक छ । यो प्रविधिमा प्रारम्भिक खर्च बढी भए पनि सुरु भइसकेपछिको खर्च भने कम हुँदै जान्छ । यसको भिन्नता भनेको परम्परागतको भन्दा प्राविधिक पक्ष र कृषि पक्ष हुन्छ । प्राविधिक पक्षमा पोलिब्याग प्रयोग हुन्छ । यसमा पानी र मल दिन थोपा सिंचाइको प्रयोग गरिएको हुन्छ । जसले गर्दा दैनिक पानी दिइरहन झन्झट हुँदैन । त्यसैगरी घाँस उखल्नेदेखि लिएर गोडमेल गर्न धेरै श्रमिकहरुको आवश्यक पर्दैन । बोटको बेर्ना एउटा पोलिब्यागमा एउटै मात्र रोप्न भएकाले रोग, किरा नियन्त्रण गर्न सजिलो हुन्छ र बोटबिरुवाको हेरचाह गर्न पनि निकै सजिलो हुन्छ । त्यसकारणले पनि यसमा खर्च कम नै हुन्छ ।
० कति क्षेत्रफलमा पोलिब्याग खेती गर्नुभएको छ ? र के–के बाली लगाउन सकिन्छ ?
अहिले बनेपाको चण्डेश्वरी–५ मा २ रोपनी क्षेत्रफलमा यो खेती गरिरहेका छौं । सिजन अनुसारको खेती गर्न सकिन्छ । अहिले बन्दा, गोलभेडा, भेडेखुर्सानी, खुर्सानी, अकबरे खुर्सानी, सिन्डोभी फर्सी (मादले फर्सी), धुन्धुको साग र चुकन्दरको बाली लगाएका छौं ।
० प्रारम्भिकमा खर्च धेरै छ भन्नुभयो नि ! खर्चबारे प्रष्ट्याइदिनुस् न ।
हो, यसको प्रारम्भिक खर्च धेरै छ । प्रथमतः यो खेती गर्नको लागि चाहिने सामग्री पोलिब्याग खरिद, थोपा सिंचाइलाई आवश्यक सामग्रीहरु पर्दछन् । यि सबै खरिद गरिने भएकोले प्रारम्भिक खर्च बढी छ भनेको हो तर क्रमशः वर्षैपिच्छे यि सामग्रीहरुमा खर्च कम हुँदै जान्छ ।
० कृषि व्यवसाय गरेर कतिको सन्तोषजनक हुनुहुन्छ ?
सोचे जतिको सन्तोषजनक नभएता पनि नयाँ प्रविधिको प्रयोग गर्दै निराशा पनि बनाएको छैन । किनकी यो अर्गानिक खेती भएकै कारण बोटबिरुवालाई अलि धेरै रोग तथा किटाणुले सताउने गर्दछ । त्यसबाहेक अरु सबै कुरामा सन्तोषजनक नै छ र अहिलेसम्मको लागि हामीले थप श्रमिकहरु राख्नुपरेको छैन ।
० राज्यले कृषिको क्षेत्रमा लगानी गर्दै आइरहेको छ, तपाईंले राज्यबाट केही अनुदान लिनुभएको छ ?
खुशीको कुरा हो यो कि राज्यले कृषकहरुको उत्पादनलाई महत्वका साथ प्राथमिकता दिइरहेको छ, अनुदान तथा सहयोग पनि प्रदान गर्दै आएको छ । तर हामीले यो व्यवसायलाई हाम्रो आफ्नै लगानीबाट गरिरहेका छौं, राज्यबाट कुनै किसिमको अनुदान लिएका छैनौं ।
० प्रसंग बदलिनुपर्दा, अहिले स्थानीय सरकारले कौसी खेतीलाई अगाडि सारेको छ, कौसी खेती र पोलिब्याग खेतीमा भिन्नता के छ ?
कौसी खती र पोलिब्याग प्रविधि नितान्त फरक पाटो हो । कौसी खेती भन्ने बितिकै कौसीमै मात्र सीमित हुने खेती हो । यो सोचेजतिको व्यावसायिक खेती हुँदैन । पोलिब्याग प्रविधि ठूलो क्षेत्रफलमा धेरै उत्पादन गरी व्यवसायिकरण गर्न सकिन्छ । त्यसैले अब स्थानीय सरकारले नयाँ प्रविधितर्फ पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ ।
० धेरै समस्याहरुमध्ये कृषकहरुको लागि अर्काे जटिल समस्या सिंचाइ पनि हो, पोलिब्याग खेती गर्दा चाहिँ सिंचाइ सहजै रुपमा गर्न सकिन्छ त ?
नेपालमा सिंचाईको समस्यासँगै मौसमी खेतीको प्रचलन पहिलेदेखि नै रहँदै आएको छ । यहि समस्या समाधारको लागि पनि पोलिब्याग प्रविधिमा थोपा सिंचाई प्रयोग गर्न सकिन्छ । जसले गर्दा पानीको उचित उपयोग हुन्छ र पानीको लागि वर्षाको प्रतिक्षा गर्नुपर्दैन ।
० अन्त्यमा छुटेका केही छन् ?
सर्वप्रथमतः यो मौका दिनुभएकोमा यस अनलाइन काभ्रेलाई धन्यवाद दिन चाहन्छु । सँगै सम्पूर्ण कृषकहरुले नयाँ प्रविधिको प्रयोग गर्दै खेतीलाई अझै व्यावसायिक रुपमा वृद्धि गरौं भन्न चाहन्छु । प्रविधिको उचित प्रयोग, उत्पादनमा वृद्धि र कृषिलाई व्यावसायिकरण गर्न सकिने भएकोले यस प्रविधिलाई सकेसम्म सबै कृषकले अँगालेर अगाडि बढिदिनुहुन अनुरोध समेत गर्दछु ।