बिपशना शाक्य
काभ्रे । ६० औं बाल दिवसको अवसर पारेर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् ।
कक्षा ४ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा तीन सम्मका बालबालिकालाई सम्मान गरेका हुन् । ‘शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बनाई ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई’ आत्मसाथ गर्दै अगाडि बढिरहेको प्रतिष्ठानले आज (शुक्रबार) सम्मान कार्यक्रममा राखिएको हो । साना बालबालिकाहरूलाई विद्यालय प्रशासन, अभिभावकले समेतले सम्मान गरेका थिए ।
उक्त अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा तीन सम्मका ५ सयभन्दा धेरै बालबालिकालाई पूजा गर्दै उपहार स्वरुप विभिन्न सामग्रीहरू गरिएको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व बोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको बताए ।
कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, शिक्षिकाहरुका साथै कक्षा ४ देखि १० का विद्यार्थीहरुले स–साना नानीबाबुहरुलाई कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा लगायतका सामग्री वितरण गरिएको थियो ।
यस्ता खालका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा व्यवहारिक शिक्षाको विकास हुँदै जाने र विद्यालय जीवन देखि नै कला, संस्कृति र सामाजिक कार्यको जगेर्ना हुने अभिभावकहरूले बताएका छन् ।