काभ्रे । काभ्रेको साँगाबाट सुन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ को डठु टोल स्थितमा ५५९.७ ग्राम सुन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
उनका अनुुसार, आइतबार काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको BAGMATI B AD 8601 नं. को निलो रंगको TUCSON कारलाई रोकी सवारी चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडीको सिट मुनी पत्रिकामा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा चारपाते सुन जस्तो देखिने पहेंलो ढिक्का थान–७ (सात) र सुन जस्तो देखिने पँहेलो धातुले बनेको सिक्री थान–१ (एक) फेला परेको हुँदा उक्त धातुहरु मान्यता प्राप्त नेपाल सुनचाँदी व्यवसायी संघ, काभ्रेबाट नाप तौल गर्दा जम्मा ५५९.७ ग्राम (४७.९८४ तोला) सुन फेला परी दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं ९ का ३७ वर्षीय वसन्त कुमार लामा र रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. १ घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको उनले जानकारी दिए ।
उनीहरुको साथबाट बरामद गरिएको सुनको नापतौल गर्दा उक्त सुनको मुल्य रू. ७१,८३,४६९.६५ (अक्षेरुपी एकहत्तर लाख त्रियासी हजार चार सय उनानसत्तरी रुपैया पैसठ्ठी पैसा) रहेको उनले बताए । उक्त चारपाते सुनको ढिक्का, सुनको सिक्री र BAGMATI B AD 8601 नं.को TUCSON कार समेत बरामद गरी उक्त कार चालक बसन्त कुमार लामा र सोही कारमा सवार अमृत श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।