काभ्रे । धुलिखेल नगरपालिकाले आज (बिहीबार) नगर सभाको १६औं अधिबेशन सम्पन्न गरेको छ ।
अधिवेशनले विशेषसभाको आयोजना गरी गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न पूर्वविनियोजन गरिएका ७५ योजनाहरुको बजेट संशोधन गर्ने र नगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ को बजेट तथा कार्यक्रम संशोधन गर्ने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । सभाले नगरपालिकाका कर्मचारी व्यवस्थापनसम्बन्धी विशेष विधेयक, नगरपालिकाको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१ तथा आर्थिक ऐन तथा राजश्वका दर रेट संशोधन गर्ने निर्णय गरेको छ ।
त्यस्तै नगर सभाले धुलिखेल, पनौती नगरपालिका, पनौती वडा नं १२ र धुलिखेल खानेपानी उपभोक्ता समितिबीच भएको सहमति सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
नगर सभामा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी लगायतले सभामा उठेका सदस्यहरुका सवालका बारेमा जवाफ दिए । सभामा वडा अध्यक्षहरु नारायणप्रसाद बडाल, रोमीप्रसाद श्रेष्ठ, गोविन्दप्र्रसाद उपाध्यायले विधेयकहरु प्रस्तुत गरेका थिए भने उपप्रमुख निराजन जंगमले खानेपानीसँग सम्वन्धित सम्झौताका बारेमा जानकारी गराएका थिए ।
नगर सभाले पास गरेको विधेयक मध्ये महत्वपूर्ण विधेयकका रुपमा विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन विधेयक २०८१ रहेको छ । जसमा विभिन्न क्षेत्रका ब्यक्तिहरु सदस्य रहने गरी नगर प्रमुखको संयोजकत्वमा विपद ब्यवस्थापन समिति गठन गर्ने, वडा स्तरीय समिति गठन गर्ने, विपद ब्यवस्थापनसम्वन्धी विभिन्न कार्य गर्ने गरी ब्यवस्था गरिएको छ ।