काभ्रे । आज (शनिबार) नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले काभ्रे जिल्लाको पनौतीस्थित साँस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्वको बारेमा सूर्यप्रसाद लाकोजूद्वारा लेखिएको पुस्तक विमोचन एवं प्रजातन्त्र सेनानी सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै देशका तीन वटै तह संघ, प्रदेश र स्थानीयले पनौतीको सम्पदा संरक्षण गर्न सहकार्य गरी अघि बढ्नुपर्ने बताएका छन् ।
मन्त्री पाण्डेले संस्कृति, सम्पदा संरक्षण गर्नको लागि संघ, प्रदेश र स्थानीय तह गरी ३ तहकै सरकारको सहकार्य र समन्वयको आवश्यक रहेको बताउँदै संस्कृतिलाई जोगाउन र संरक्षण गर्न सरसफाईको पनि आवश्यक भएको बताए । पनौतीको सम्पदा संरक्षण गर्न ३ तहकै सरकारको सक्रियता हुनुपर्छ, कुनै एउटा निकाय वा एउटा संस्थाले मात्र गर्छु भनेर सम्भव नहुने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै गत असोजको दोस्रो साता गएको बाढी पहिरोले पुरातात्विक महत्व बोकेको पनौतीका अधिकांश संरक्षित सम्पदाहरु त्रिवेणीघाटमा रहेका मठ–मन्दिर, पाटीपौवा, ब्रह्मायणी मन्दिर लगायतका क्षेत्रहरुमा समेत क्षति पुगेको र यसको पुनर्निर्माणका लागि ३ तहकै सरकार लागिपर्नुपर्ने बताए ।
लामो समयदेखि साहित्यमा भिजेका साहित्यकार सूर्य प्रसाद लाकोजुको ‘पनौतीका केही जात्रापर्वहरु’ नामक पुस्तक लोकार्पण गरिएको छ । उक्त पुस्तक संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री पाण्डेले लोकार्पण गर्दै यस्ता संस्कार, संस्कृतिका बारेमा साहित्यकार सूर्य प्रसाद लाकोजुले लेखेका कृति पनौतीको जात्रा–पर्वहरुको बारेमा उल्लेख गरी प्रकाशन गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका छन् । कृतिमा उल्लेख भएका जात्रा–पर्व र संस्कृतिका वर्णनले पनौतीको संस्कृति एवं सम्पदाको संरक्षण हुनेमा मन्त्री पाण्डेले जोड दिएका छन् ।
कृतिमा पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र, अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थानको चर्चा गरिएको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक आदिका कारणले पनौतीको महत्व प्राचीन कालदेखि रहँदै आएको कुराहरुलाई कृतिमा वर्णन गरिएको छ ।
कृतिमा पनौतीमा हरेक महिना मनाइने विभिन्न जात्रापर्व जस्तै, जेष्ठ पूर्णिमाको दिन हुने इन्द्रेश्वर महादेव, उन्मत्त भैरव तथा भद्रकाली र ब्रह्मायणीको जात्रा, माघ शुक्ल द्वादशीको दिन हुने मानेश्वरीको जात्रा,फागुन महिनाको होलिपूर्णेका दिन हुने संकटा जात्रा लगायतका विभिन्न समयमा हुने भीमसेन जात्रा, गणेश जात्रा, नारायणको जात्रा, बुद्ध जात्रा लगायत बाहिरबाट ल्याएर चलाउनुपर्ने नमोबुद्ध जात्रा, नवदुर्गा जात्रा, हरसिद्धि जात्राका साथै साँखु र भक्तपुरबाट श्रीस्वस्थानीको व्रतालु समेत आई त्रिवेणीघाटमा स्नान गर्ने पर्वहरू विशेष महत्व राख्ने धार्मिक पर्वहरूको बारेमा उल्लेख गरिएको छ ।
सोही अवसरमा सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानले महेश कुमार कर्माचार्य, प्रेमबहादुर महाजु र इन्द्रकुमारी खड्कालाई दोसल्ला ओढाई सम्मान गर्दै मन्त्री पाण्डेले इतिहास बोकेका र प्रजातन्त्रमा योगदान गरेका व्यक्तित्वहरुलाई प्रतिष्ठानले सम्मान गरेर उदाहरणीय कार्य गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईं, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सभापति तीर्थ बहादुर लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, पुस्तकका लेखक सूर्यप्रसाद लाकोजू लगायतले बोलेको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष गोवद्र्धन कर्माचार्यले राखेका थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष विजयराम कर्माचार्यले गरेका थिए भने सञ्चालन प्रतिष्ठानका सचिव शम्भुलाल श्रेष्ठले गरेका थिए ।