बनेपा । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७२ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लामा ७५ जना घाइते छन् ।
आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ८२४ जनाको उद्धार गरिएको छ । यस्तै स्थानीय जनप्रतिनिधी, स्थानीयवासी र अन्यबाट उद्धार हुनेको संख्या ३ हजार २९९ रहेको प्रहरीले जनाएको छ । सवारी साधनबाट उद्धार भएका ८ हजार ४७१ मध्ये ३ हजार ५०७ महिला र ४ हजार ९६४ पुरुष रहेका छन् ।
पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा ७, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमा पुरुषको संख्या २६ र महिलाको संख्या ३२ रहेको छ । जसमध्ये १४ जना बालबालिका रहेका छन् ।