बनेपामा सात हजारभन्दा बढी पुजिए कन्याहरु

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १०, सोमबार (८ महिना अघि)
  • २३४ पटक पढिएको
बनेपामा सात हजारभन्दा बढी पुजिए कन्याहरु

काभ्रे । काभ्रेको ऐतिहासिक सहर एवं व्यापारिक नगर भनेर चिनिने बनेपामा हरेक वर्षझैैं यस वर्ष पनि कृष्ण जन्माष्टमीको अवसरमा हजारौं कन्याहरु पुजिएका छन् ।
वर्षाैंदेखि निरन्तर रुपमा बनेपामा सनातन कन्या पुजा प्रबन्ध समितिमार्फत कन्याहरुलाई पुजिँदै आएको छ । कन्या पूजा प्रबन्ध समितिले आयोजना गरेको कन्या पूजामा करिब ७ हजारभन्दा बढी कन्याहरु यस वर्ष पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले बताएका छन् । वैद्यका अनुसार कन्याको पूजाका साथै प्रसाद स्वरुप समितिले स्वारी, वितरण गरेको छ भने अन्य व्यक्तिहरुले पैसा, छोकडा, शैक्षिक सामग्री, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटी लगायतका खानेकुराहरु प्रदान गरेको छ ।


बनेपामा हुने कन्या–पूजामा प्रति कन्या करिब ४ सय रुपैंया बराबरका सामाग्रीहरु उपलब्ध गरेको समितिका सचिव वैद्यले बताउँदै दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएको बताएका छन् ।
कन्याहरुको पूजा गर्दा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने र पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने जनविश्वास रहेको छ । १ सय २२ वर्षदेखि बनेपामा कन्या पूजा गरिदैँ आएको इतिहासमा उल्लेख छ । किंवदन्तीअनुसार वि.सं. १९५९ देखि रजस्वला नभएका कन्याहरुलाई पूजा गरिदैं आएको छ ।
किंवदन्ती अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख पाएपछि आफ्नो घरको बुइँगलमा राखेर आफ्ना घरका रजस्वला नभएका कन्यालाई पूजा गरेपछि उनलाई सुख शान्ति मिलेको उल्लेख गरिएको छ । सोही समयदेखि प्रचलनस्वरुप नेवार समुदायले रजस्वला नभएका कन्याहरुको पूजा गर्दै आएको इतिहास रहि आएको छ । पहिले नेवार समुदायका कन्यालाई पूजिँदै आएपनि पछिल्लो समयदेखि भने सबै जातिका कन्याहरु सहभागी हुने गरेका छन् भने अन्य स्थानहरुबाट पनि कन्या पूजाको लागि आउने गरेको आयोजक समितिले जानकारी दिएको छ ।
बनेपाको भोलाखा टोलमा गणेश र कुमारको पूजा भएपछि कन्या पूजा सुरु हुँदै भित्रीबजारदेखि चारदोबाटोसम्मको दायाँ बायाँ सडकमा राखेर कन्याहरु पुजिने प्रचलन रहँदै आएको छ ।
कृष्ण जन्माष्टमीको दिन काभ्रेको बनेपाको बुडोल, साँगा, भैंसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, खड्पु, पनौती लगायतका स्थानहरुमा पनि कन्याको पूजा गरिएको छ ।

 

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस