देवी प्रतिभालाई पनाैतीमा भव्य स्वागत

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ श्रावण १२, शनिबार (९ महिना अघि)
  • २४२ पटक पढिएको
देवी प्रतिभालाई पनाैतीमा भव्य स्वागत

ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । अध्यात्मिक कार्यबाट स्वदेश तथा विदेशमा प्रसिद्धि कमाएकी देवी प्रतिभा अर्थात प्रतिभा पराजुलीलाई उनकै गृह जिल्ला काभ्रेको पनाैती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको छ ।


शनिबार काभ्रे सेवा समाज र पनाैती नगरपालिकाले उनलाई पनाैतीमा आयाेजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् ।
उनलाई काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी,  पनाैती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा लगायत सयाैंकाे संख्यामा उपस्थित सर्वसाधारणले स्वागत गरेका थिए । त्यसअघि उनले पनाैतीका धार्मिकस्थलहरु, मुक्तिनाथ मन्दिर, इन्द्रेश्वर महादेवकाे मन्दिर, त्रिवेणीघाटलगायतकाे दर्शन र अवलाेकन गरेकी थिइन् । सम्मान ग्रहण गर्दै देवी प्रतिभाले आफू संसारका जुनसुकै ठाउँमा पुगेपनि आफ्नाे संस्कार, आफू जन्मिएकाे ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताइन् । आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेकाे बताउँदै उनले पनाैतीकाे धार्मिक महत्वका बारेमा देशविदेशका ठाउँमा प्रचारप्रसार गर्ने पनि बताइन् ।


कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन सफल  काभ्रेकै छाेरी प्रतिभालाई पनाैतीमा सम्मान गर्न पाउनु गर्वकाे विषय भएकाे बताए । उपप्रमुख बञ्जाराले छाेरीले पनि अवसर पाए देशकाे नाम उच्च राख्छन् भन्ने उदाहरण देवी प्रतिभा बनेकाे बताउँदै यस्ता व्यक्तिहरुलाई राज्यले सम्मान गर्नु पर्ने बताइन् । काभ्रे सेवा समाजका अध्यक्ष केसीले देवी प्रतिभाले सानै उमेरमा जुन काम गरेकी छिन्, याे सामान्य नभएकाे र उनलाई संस्थाले सम्मान गर्न पाउँदा खुशी लागेकाे बताए ।
कार्यक्रममा देवी प्रतिभाका मातापिता साधुराम पराजुली, इन्दिरा पराजुली, ठूलाेबुबा शम्भु पराजुली, अंकल दीपक पराजुली लगायत उनका आफन्तहरुकाे पनि उपस्थिती रहेकाे थियाे ।
यसैबीच उनलाई आइतबार प्रतिभाकै गृहनगर मण्डनदेउपुरमा पनि स्वागत, अभिनन्दन र सम्मान गरिने भएकाे छ । नगरपालिकाकाे  सभाहलमा एक कार्यक्रमका बीच सम्मान कार्यक्रम राखिएको नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए । सो कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण नगरवासीमा अनुरोध पनि गरिएको छ ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा २०५८ पुस १८ गते जन्मिएकी प्रतिभा पराजुली विगत एक दशकदेखि भारतको बृन्दावनमा अध्ययनको शिलशीलामा पुगेकी थिइन् । त्यहाँबाटै उनले यस क्षेत्रमा पाइला चालेकी हुन् । सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढेकी प्रतिभाले छोटो समयमै देशविदेशमा ख्याति कमाएकी छिन् ।

पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ । देवी प्रतिभा यही कोटोहोमका लागि नेपाल आएकी थिइन् । यही अवसरमा उनलाई उनकै जिल्ला र नगरमा स्वागत र सम्मान कार्यक्रम राखिएकाे हाे ।

तस्वीर : देवराज के.सी.

ताजा अपडेट

खोजी गर्नुहोस