काभ्रे । बेथानचोक गाउँपालिकामा आज (बिहीबार) नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, र उपाध्यक्ष तारा राना तिमल्सिनाले एकसाथ नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेको हो ।
प्रशासनिक भवनको उद्घाटन गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले भवन निर्माण पालिकाको उपलब्धिमूलक कार्य भएको बताउँदै नवनिर्मित प्रशासनिक भवनबाट पालिकाले प्रवाह गर्ने सेवाहरू निरन्तर, प्रभावकारी र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
सम्बोधनकै क्रममा आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दै आएको पालिकाले अब सेवा प्रवाहलाई थप चुस्त दुरुस्तका साथ अघि बढाउँदै लैजाने पालिका अध्यक्ष अधिकारीलेबताएका छन् ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताएका छन् ।
नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायत शाखाहरूले सेवा प्रवाह गर्नेछन् ।