यातायात व्यवस्था कार्यालय काभ्रेमा सञ्चालन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ १५, शनिबार (१० महिना अघि)
  • ४११ पटक पढिएको
यातायात व्यवस्था कार्यालय काभ्रेमा सञ्चालन

काभ्रे । यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोक बनेपास्थित बुडोलमा आज श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश मन्त्री लक्ष्मण लम्सालद्वारा उद्घाटन भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लम्सालले यातायात जीवन पद्धती भएकाले नागरिकलाई सुशासन दिनका लागि काभ्रेमा यातायात कार्यालयको संचालन गरिएको बताए । उक्त कार्यालयबाट १० वर्षसम्म नविकरण नभएका सवारी साधनलाई ५० प्रतिशत छुट दिएर नवीकरण गर्ने निर्णय भएको जानकारी दिँदै बनेपामा संचालनमा आएको कार्यालयलाई नमुना बनाउन कर्मचारीलाई निर्देशन समेत दिएका थिए ।

काभ्रेवासीहरुका लागि यो खुशीको कुरा हो । सानो कामकै लागि पनि काठमाडौ या भक्तपुर जानुपर्ने बाध्यताको अबबाट अन्त्य भएको मन्त्री लम्सालले बताए ।
सम्बोधनकै क्रममा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख सूर्यप्रसाद सेढाईले यातायात व्यवस्था कार्यालयबाट सबै सेवाग्राहीहरू लाभान्वित हुनेमा आफू विश्वस्त रहेको साथै कर्मचारीहरूले उचित ढंगबाट सेवा प्रवाह गर्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दीपककुमार गौतम, प्रदेश सांसद रत्न ढकाल, रुकु चौंलागाईं, कञ्चनचन्द्र बादे, उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, यातायात व्यवसायी आत्मराम थापा लगायतले काभ्रेमा संचालनमा आएको यातायात कार्यालयले काभ्रेलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछापका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने बताए ।
यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ सवारी दर्ता, अस्थायी दर्ता, सरुवा दर्ता, हेरफेर, पुनः दर्ता, लिलामी दर्ता, सवारी दर्ता प्रमाणपत्र जारी, प्रतिलिपी तथा नवीकरण, प्रदूषण चेकजाँच, रुट परमिट लगायतका सेवा उपलब्ध गराइने कार्यक्रममा जानकारी दिइएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस