काभ्रे । नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर आफ्ना कृयाशिल सदस्यलाई परिचयपत्र (कार्ड) वितरण गर्ने भएको छ ।
करिब १९ हजार सदस्यलाई कृयाशिल कार्ड वितरण गर्न लागेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिएका छन्।
तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा बसेको जिल्ला कार्यसमितिको बैठकले जेठ महिनाभरमा १ सय ३५ वटै वडामा सम्मेलन गर्ने र सोही दिन कृयाशिल कार्ड समेत वितरण गर्ने निर्णय गरेको छ । जिल्लाका पदाधिकारी एवं पूर्व पदाधिकारीलाई १३ स्थानीय तह र जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ संस्था प्रमुखहरुलाई वडामा प्रतिनिधी तोकेर सम्मेलन सम्पन्न गर्न खटाउने निर्णय पनि जिल्ला कार्यसमिति बैठकले गरेको छ ।
सभापति तीर्थ लामाका अनुसार, सोही समयमा पार्टीका टोल समिति सम्म पूर्णता नपाएको भए पूर्णता दिने, भातृ तथा शुभेच्छुक संस्था गठन एवं विस्तार समेत हुनेछ ।
बैठकले जिल्लामा गठन भएका विभिन्न शाखाले पूर्णता पाएकाले सदस्यहरुलाई मनोनयन पत्रसहित प्रशिक्षण दिने पनि तय गरेको छ ।
जिल्ला कार्यसमितिको आगामी बैठक बेथानचोकमा बस्ने निर्णय भएको सचिव माधव ढकालले जानकारी दिएका छन्। बैठकले तेमालका लालबहादुर थिङलाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।