काभ्रे । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आज (शुक्रबार) आ.व. २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस कार्यालयबाट हालसम्म सम्पादन भएका विभिन्न कार्यक्रमहरुको बारेमा पत्रकारसँगको अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कार्यालयले ६ महिनाको अवधिमा चालुतर्फ २५ दशमलव ०७ प्रतिशत र पुँजीगततर्फ ७ दशमलव ४० प्रतिशत प्रगति गरेको जानकारी दिए ।
त्यस्तै राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राष्ट्रिय खोप टार्गेट ९५ प्रतिशत राखिएकोमा काभ्रे जिल्लामा ६ महिनाभित्र ५० प्रतिशतभन्दा माथि कभरेज भएको र विगतको तुलनामा यो वर्ष खोप खेर जाने दर बढेको अधिकृत श्रेष्ठले जानकारी दिए । त्यस्तै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ बर्ष सम्मका किशोरीलाई दिइने पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) खोपमा ९८ दशमलव १७ प्रतिशत लक्ष्य प्राप्त भएको र १६ हजार १ सय जनालाई खोप लगाउने लक्ष्यमा १५ हजार ८ सय ६ जनालाई खोप लगाइएको कार्यक्रममा जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले सुत्केरी पश्चात् १ वर्षभित्र परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या ०८१÷८२ सम्म आइपुग्दा २० प्रतिशतले वृद्धि भएको बताइन् । त्यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममा भने कार्यालयले ५१ दशमलव ८१ प्रतिशत प्रगति गरेको छ । सरकारी तथ्यांकअनुसार प्रति एक लाख जनामा २ सय २९ जना क्षयरोगी भेटिने गरेको छ । निःशुल्क रक्तसंचार अन्तर्गत ६ महिनामा ७१ जनाले यो सेवा पाएको जानकारी दिइन् । जिल्लामा एक विद्यालय एक नर्स कार्यक्रम ८२ वटा विद्यालयमा संचालनमा रहेको भएपनि हाल भने ५७ वटा विद्यालयमा मात्र कार्यान्वयन भएको कार्यालय प्रमुख कक्षपतिले जानकारी दिइन् ।
प्रमुख कक्षपतिले रेविज भ्याक्सिनको व्यवस्थापन, नसर्ने रोगको औषधी व्यवस्थापन, डेंगी रोगको नियन्त्रण तथा व्यवस्थापनमा चुनौती हुनुको साथै मानसिक स्वास्थ्य समस्या तथा आत्महत्या न्यूनीकरण कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्ने बताइन् । उनले स्वास्थ्य सेवा प्रवद्र्धन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सहकार्य अपेक्षा गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष एवं प्रमुख अतिथि विनोदकुमार न्यौपानेले थप जानकारी लिन र सूचना प्रवाहमा सहजता ल्याउन आगामी दिनमा कार्यालयले फिल्ड भिजिटमा सञ्चारकर्मीहरुलाई सँगै लिएर जान अनुरोध गरे ।
कार्यक्रममा सञ्चारकर्मीहरुले आ–आफ्नो जिज्ञासा राख्नुका साथै कार्यालयले गरिरहेका काममा गर्नुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए । सञ्चारकर्मीहरुले राखेको जिज्ञासा जनस्वास्थ्य कार्यालयका प्रमुख कक्षपतिले मेटाएकी थिइन् ।