काभ्रे । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा शुभेच्छुक र भातृ संगठन विस्तार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस इतिहास बोकेको पार्टी भएकाले ०८४ सालमा हुने चुनावको चिन्ता नगरी देशको चिन्ता गरेको बताए ।
केही पुराना पार्टी र नयाँ खोलिएका पार्टीले ०८४ सालको चुनावको चिन्ता गरिरहेकोप्रति लक्षित गर्दै महामन्त्री शर्माले राजनीतिक दलहरुले सधैं चुनावको मात्र चिन्ता गरेर देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गरे । महामन्त्री शर्माले चुनावको चिन्ता गरेर समय खेर नफाली नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न निर्देशन समेत दिए ।
सम्बोधनकै क्रममा महामन्त्री शर्माले पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वभाविक हो भन्दै आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जाने प्रष्ट पारे । कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता भएपनि पार्टीभित्रको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईं, केन्द्रीय सदस्य मधु आचार्य, वागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादे, काभ्रे कांग्रेस सभापति तीर्थ लामा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले नेपाली कांग्रेसले गरेको इतिहासको बारे चर्चा गर्दै सबै मिलेर अघि बढे कांग्रेस बलियो रूपमा अगाडी बढ्ने बताए ।
नेपाली कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलको सभापतित्वमा सम्पन्न सोही कार्यक्रमको अवसरमा मण्डनभेगमा जन्मिएर, स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमासमेत चर्चामा रहेका राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो ।
प्रमुख अतिथि महामन्त्री शर्माले पौडेलको प्रतिमा अनावरण गर्दै उनले पुर्याएको योगदानको बारे चर्चा समेत गरेका थिए ।