काभ्रेमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप शुरु

अभियानको दोश्रो दिन बनेपा नगरपालिकामा १ हजार १ सय १९ जना किशोरीलाई खोप लगाइयो
  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८१ माघ २३, बुधबार (२ महिना अघि)
  • ८१ पटक पढिएको
काभ्रेमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप शुरु

काभ्रे । नेपाल सरकारको निर्णय अनुसार माघ २२ गते देखि राष्ट्रिय अभियान अन्तर्गत काभ्रे जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप सुरु गरेको छ ।


जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव रागिश्री कक्षपति श्रेष्ठका अनुसार ६ कक्षा देखि १० कक्षा सम्म र विद्यालय बाहिरका १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच.पी.भी.खोप लगाउन शुरु गरिएको जानकारी दिइन् ।
अन्य जिल्लामा फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप काभ्रेमा दुई चरणमा लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठले बताइन् । जिल्लास्तरिय खोप समन्वय समितिको निर्णयअनुसार सहज व्यवस्थापनका हिसाबले कार्यक्रम दुई चरणमा हुने र तोकिएको समयभित्रै खोप सम्पन्न हुने गरी योजना बनाइएको छ । प्रमुख श्रेष्ठका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल, बेथानचोक, महाभारत र खानीखोलामा पहिलो चरणमा २९ गतेभित्रै र नमोबुद्ध, मण्डनदेउपुर, भुम्लु, तेमाल, रोशी र चौंरीदेउरालीमा फागुन १–६ गतेभित्रै एचपिभी खोप लगाइने योजना स्वीकृत भएको जानकारी दिइन् । जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार ६ सय ७४ छात्रा र विद्यालय बाहिर रहेका चार सय ३९ किशोरी गरी १६ हजार एक सय १३ जनालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप लगाउने तयारी रहेको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
१५ दिने अभियान अन्तर्गत फाल्गुन ६ गते सम्म विद्यालयलाई नै खोप केन्द्र तोकिएको छ भने विद्यालय बाहिर ४ स्थानमा खोप केन्द्र सञ्चालन गरिनेछन् । प्रत्येक स्थानीय तहमा २ जनाका दरले सुपरभाइजर र १ सय ७० जना स्थानीय सुपरभाइजर खटिने जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।


तथ्यांकअनुसार सबैभन्दा बढी बनेपामा ४ हजार २९ जनालाई खोप लगाइँदैछ भने सबैभन्दा कम ४ सय ५० जनालाई चौंरीदेउरालीमा लगाइँदैछ । त्यसैगरी पनौतीमा २ हजार ४ सय ९५, पाँचखालमा १ हजार ४ सय ७६, धुलिखेलमा १ हजार ४ सय १६ र रोशीमा १ हजार १ सय ४८, मण्डनदेउपुरमा ९ सय ८०, नमोबुद्धमा ९ सय ७२, महाभारतमा ८ सय ७६, खानीखोलामा ६ सय ७६, बेथानचोकमा ६ सय २८, भुम्लुमा ५ सय २८ र तेमालमा ४ सय ८७ जनालाई खोप लगाइँदैछ ।
पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियानको दोश्रो दिन बनेपा नगरपालिका अन्तर्गतको खोप केन्द्रहरुमा १ हजार १ सय १९ जना किशोरीलाई खोप लगाइएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस