काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पछिल्लो समय प्रभाकारी बन्दै गएको बताएका छन् । आइतबार, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले आयुर्वेद सेवाको प्रर्वद्धन गर्ने उदेश्यले आयोजना गरेको संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले पछिल्लो समय आयुर्वेद सेवामा नागरिकको विश्वास बढ्नुको साथै सेवा प्रभावकारी भएको बताएका हुन् ।
स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासा सम्बोधन गर्न उनले अनुरोध गरे । जिल्ला स्थित आयुर्वेद तथा वैकिल्पक चिकित्सालयका प्रमुख डा. अर्जुन उपाध्यायले सेवा, सेवाका प्रकार र गुणस्तर, आवश्यकता तथा भएका कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
सरकारले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बजेट कटौती गरिसकेको, वर्षात तथा विपत्तिका कारण थप बजेट कटौतीमा पारेको र केहि महत्वपूर्ण कार्यक्रमहरु ओझेलमा परेको भए पनि नागरिकहरुलाई सेवा प्रवाहमा अझै सक्रियताका साथ कार्यालयले समन्वय गरिरहेको डा. अर्जुन उपाध्यायले बताए । सेवाग्राहिहरुको बढ्दो विश्वासलाई अझै फराकिलो बनाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले खेल्नु पर्ने भूमिकाका बारेमा संचारकर्मीहरुले सुझाव दिएका थिए ।